एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका खेलहरु सकिएका छन्। मंगलबार लिगको अन्तिम खेल सकिएसँगै प्ले अफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ।
आइपिएलको १३ औं संस्करणको प्ले अफमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स्, श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स्, डेविड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरले स्थान बनाएका छन्।
लिगका १४ खेलहरुमध्ये ९ खेलमा जित निकालेको मुम्बईले १८ अंकको साथ शीर्षस्थानमा रहँदै प्ले अफमा स्थान बनायो भने ८ खेलमा विजयी भएको दिल्ली १६ अंकको साथ दोस्रो स्थानमा रहँदै प्ले अफ पुग्यो। त्यस्तै समान ७–७ खेलमा विजयी भई समान १४–१४ अंक जोडे पनि नेट रन रेटका आधारमा ब्याङ्ग्लोरलाई पछि पारेको हैदराबाद तेस्रो हुँदै प्ले अफका लागि क्वालिफाइ भयो भने ब्याङ्ग्लोरले चौथो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गर्यो।
प्ले अफमा स्थान बनाएका चार टोलीममध्ये मुम्बई इन्डियन्स सबैभन्दा बलियो देखिएको छ। लिगका खेलहरुमा पनि राम्रो प्रदर्शन गरेको मुम्बईको मनोबल उच्च छ। सर्वाधिक ४ पटक आइपिएलको उपाधि जितेको मुम्बई पुनःआइपिएलको उपाधि उचाल्ने दाउमा छ। त्यसैगरी जारी सिजनमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको दिल्ली पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ। सन्तुलित देखिएको दिल्लीको टोली पनि आइपीएल उपाधिको मुख्य दाबेदार मानिएको छ।
लिगको अन्तिम खेलमा शीर्षस्थानको मुम्बईलाई पराजित गर्दै प्ले अफमा स्थान बनाएको हैदराबाद आइपिएल २०१६ को च्याम्पियन हो। दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा अघि बढेको हैदराबाद खेलमा जस्तोसुकै अवस्थामा हाबी हुनसक्ने टिम हो।
लिग चरणको शुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको ब्याङ्ग्लोरले उत्कृष्ट पुनरागमन गर्दै प्ले अफमा स्थान बनायो। हालसम्म आइपिएल उपाधि उचाल्न नसकेको ब्याङ्ग्लोरलाई यसपटक च्याम्पियन बन्ने अवसर छ। लिगको चौथो स्थानमा रहेको ब्याङ्ग्लोरको उपाधि यात्रा भने त्यति सजिलो छैन।
हालसम्म आइपिएलको च्याम्पियन बन्न नसकेको दुई टोली दिल्ली र ब्याङ्ग्लोर प्ले अफका लागि क्वालिफाइ भएसँगै आइपिएल नयाँ च्याम्पियन पाउन सक्ने अनुमान गरिएको छ। सन्तुलित प्रदर्शन गरिरहेको दिल्लीले पहिलो क्वालिफायरमा बिहीबार मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित भएका टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजयी टिमसँग खेल्नुपर्नेछ।
त्यस्तै शुक्रबार इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहेको हैदराबाद र ब्याङ्ग्लोरले प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ। इलिमिनेटर जित्ने टोली र पहिलो क्वालिफायरमा पराजित टोलीबिचको खेलमा विजयी हुने टोली आइपिएल २०२० को फाइनल पुग्नेछ।
यसरी हेर्दा दिल्लीको उपाधि यात्रा केहि सजह देखिन्छ। लगातार २ नक आउट खेल जितेमा दिल्ली च्याम्पियन बन्ने छ भने ब्याङ्ग्लोरको उपाधि यात्रा केहि कठिन देखिन्छ। च्याम्पियन बन्नको लागि ब्याङ्ग्लोरले लगातार ३ नकआउट खेल जित्नुपर्नेछ। यदि दिल्ली वा ब्याङ्ग्लोरमध्ये एक टोलीले उपाधि जितेमा आइपिएलले नयाँ च्याम्पियन पाउनेछ।