अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार अर्थ मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन्।
पौडेल र क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ।
अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यसविरुद्ध सहकार्यको आवश्यकता रहेको उनले बताए।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गरे।
साथै उनले भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए।
भेटमा भारतीय राजदूतले गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरूका लागि भारतीय अनुदानस्वरुप थप १ अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।