कैलालीको जुगेडामा प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय व्यापरी पक्राउ परेका छन्। प्रहरीले बुधबार बिहान धनगढी बजारबाट भारतीय व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले ३६ वर्षीय गुप्ताले जुगेडामा प्रहरीको हत्या गर्नेहरूसँग सम्बन्ध रहेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए।
प्रहरीको हत्या भएका बेला जुगेडा क्षेत्रबाट तस्करी गरी भित्र्याउन खोजिएको सामान गुप्ताकै रहेको खुल्न आएको छ। केराउको तस्करी रोक्न खटिएको प्रहरी टोलीमाथि आक्रमण हुँदा कात्तिक २ गते जुगेडा प्रहरी चौकीका इञ्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो।
प्रहरीले धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पर्कु राना (रोहित), ३१ वर्षकै रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षका चोर भनेर चिनिने सुरेश राना, २५ वर्षका राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षका रामगोपाल रानालाई पक्राउ गरिसकेको छ।
वीरगञ्ज नाकाबाट भारतमा सामान लाने र नेपाल ल्याउने गरेका भारतीय नागरिक गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो। धनगढी बजारमा गुप्ताले गोदाम राखेका छन्।
धनगढी–५ शिवनगरमा गुप्ताले किराना पसल सञ्चालन गरिरहेको प्रहरीले जानकारी दिएको छ।
एक दशकअघि भारतीय सीमावर्ती क्षेत्र गौरीफण्टामा किराना पसल शुरु गरेका गुप्ताले त्यहाँबाट हट्नु परेपछि नेपालमा पनि व्यापार विस्तार गरेका छन्।
गौरिफण्टा बजारलाई विहार सरकार र भारतको केन्द्र सरकारले विस्थापित गरेको थियो। त्यसपछि गुप्ता धनगढी आएका हुन्। धनगढी–९ मा गुप्ताले हार्डबेयर पसल सञ्चालन गरेका छन्।