प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन्। ओलीले आफूले राजीनामा दिए देश बर्बादीतिर जाने जिकिर गर्दै पद नछाड्ने बताएका हुन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने भन्ने हल्ला सञ्चारमाध्यममा आएको भए पनि त्यो सत्य नभएको बताएका हुन्।
‘सञ्चारमाध्यममा हल्ला आउँछ राजीनामा को, तर तपाईहरू आफैं के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ ओलीले प्रश्न गरे।
ओलीले आफूलाई पदबाट हटाउन धेरै प्रयास भइरहेको उल्लेख गर्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन्।
‘मेरा लागि होइन, देशको लागि हो, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन,’ ओलीले अडान व्यक्त गर्दै भने।
देशमा अस्थिरताको खेती गर्ने तत्व बेला–बेला सल्बलाउने गरेको ओलीको दावी थियो। ‘कोही यसबाट एडिक्ट भएका छन्, यस्तो एडिक्सनलाई म के भनूँ? देशमा स्थिरताका लागि हामी काम गर्छौं, स्थिरता विकासका लागि हो, जनताको जीवन परिवर्तनका लागि हो,’ उनले भने।
सरकारले राजनीतिक स्थायित्व र समृद्धिका लागि काम गरिरहेको तर्क गर्दै ओलीले देशमा बर्बादी हुने गरी सत्ता नछोड्ने जिकिर गरेका छन्।