काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलको गैरजिम्मेवारीले एक बिरामीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर–४ की रुमी बानुको हिमाल हस्पिटलले भर्ना गर्न नमान्दा मृत्यु भएको हो।
बानुका आफन्तहरूले हिमाल हस्पिटलविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्। आइतबार बिहान हिमाल हस्पिटलमा पुर्याइएकी बानुलाई आकस्मिक कक्षमा भर्ना लिन नमान्दा उनको ज्यान गएको परिवारको आरोप छ।
‘आइतबार बिहान ६ बजे हिमाल हस्पिटल पुर्याएका थियौं, तर अस्पतालले पिसिआर रिपोर्टको बहाना गरेर बिमारी भर्ना गर्न मानेन, २ घण्टासम्म उहाँको उपचार नभएपछि स्वास्थ्य गम्भीर भइसकेको थियो,’ बानुका एक आफन्तले भने।
बानुको शुक्रबार मात्रै पिसिआर परीक्षण गरिएको थियो। हिमाल अस्पतालका डाक्टरले आइतबारकै पिसिआर परीक्षण रिपोर्ट मागेपछि उनको उपचारमा ढिलाई भयो। हिमाल हस्पिटल ल्याएपछि ६ बजेदेखि झण्डै साढे ८ बजेसम्म बानुलाई भर्ना लिइएन।
‘आइतबारको रिपोर्ट नभए उपचारै नगर्ने बताएर डाक्टरले अढाई घण्टासम्म बहस गरे, पिसिआर रिपोर्ट आउछ, सुरक्षित रुपमा उपचार शुरु गर्नुहोस् भन्दा पनि भर्ना दिइएन,’ ती आफन्तले भने।
बानुलाई लिएर अस्पतालकाे आफ्नै एम्बुलेन्स सानेपास्थित स्टार हस्पिटल गएकाे थियो। तर, एम्बुलेन्सको अक्सिजन सिलिण्डर खालि थियो।
त्यसपछि उनलाई स्टार हस्पिटल हुँदै ग्रिनसिटी अस्पताल पुर्याइयो। बुधबार साँझ बानुको मृत्यु भयो। पीडितका आफन्तले हिमाल हस्पिटलले बेलैमा उपचार सेवा दिएको भए बिरामीको ज्यान जोगिनसक्ने दावी गरेका छन्।
‘पहिले पनि गाह्रो भएर उपचार गराएको हो, तत्काल उपचार गर्दा उहाँको जीवन जोगिने थियो, तर हिमाल हस्पिटलले गैरजिम्मेवारीपूर्ण व्यवहार गर्दा उहाँको ज्यान गयो,’ ती आफन्तले भने।
‘प्रशासनको निर्देशनअनुसार भर्ना नगरिएको हो’
हिमाल हस्पिटलका एक मेडिकल अफिसरले अहिलेको अवस्थाका कारण नै कोभिडका बिरामीहरूलाई हिमाल हस्पिटलले नलिने बताएका छन्। अन्यको उपचार भइरहेको उनले बताए।
‘काठमाडौंका हस्पिटल कोभिड र ननकोभिड छन्, हाम्रो हस्पिटल ननकोभिड हो, त्यसैले बिरामी नलिएको हो,’ उनले भने, ‘कोरोनाको सामान्य लक्षण देखिए पनि हामी लिदैनौं।’
तर, हिमाल हस्पिटलमा उपचारमा भएको ढिलाईका कारण बिरामीको मृत्यु भएकोमा उनले दुःख व्यक्त गरेका छन्। ‘अवस्था यस्तै छ, हामीले पनि सुरक्षित रहनुपर्यो,’ उनले भने, ‘उपचारमा भएको ढिलाईले बिमारीको ज्यान जानु हुँदैनथियो।’