काठमाडौं - विदेश जाने यात्रुहरुको नेपालमा कोरोना भाइरस पीसीआर परीक्षण टेस्ट गर्दा नेगेटिभ आएका यात्रुहरुको विदेश पुग्दा पोजेटिभ देख्न थालेको छ । यसको प्रभाव भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ ।
केही दिनयता हङकङ, दुबई, नारिता (जापान) लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत विदेश पुगेपछि पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।
नेपाल एयरलाइन्सलाई हङकङले अहिले दोस्रोपटक प्रतिवन्ध लगाएको छ । कोभिड संक्रमित ल्याएको भन्दै दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको छ । त्यसैले एयरलाइन्सलाई प्रतिवन्ध हुँदा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता समेत व्यक्त गरेको छ ।
नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ ।