आइतबार बिहान ६ बजेको थियो। हिमाल अस्पतालको आँगनको आकस्मिक कक्षको एकछेउमा एक बिरामी छट्पटाइरहेकी थिइन्। काठमाडौं महानगरपालिका वडा नम्बर–४ की रुमी बानु आफ्नो उपचारका लागि अस्पतालमा रहेका डाक्टरसँग अनुनय विनय गरिरहेकी थिइन्।
तर, आकस्मिक सेवामा खटिएका डाक्टर र नर्सहरूले बानुलाई भर्ना गर्न मानेनन्। ब्रोंकाइटिसको उपचार गराइरहेकी बानुलाई शुक्रबारदेखि स्वास्थ्यमा अलि समस्या आएको थियो। शनिबार राति निकै साह्रो भएपछि उनका आफन्तले उनलाई हिमाल हस्पिटल पुर्याए।
तर, हिमाल हस्पिटलको आकस्मिक कक्षमा खटिएका डाक्टर र नर्सले बानुसँग कोरोना भाइरसको पिसिआर परीक्षण रिपोर्ट मागे। बानुले शुक्रबार पिसिआर परीक्षण नेगेटिभ आएको प्रमाण देखाइन्।
‘अस्पताल प्रशासन र डाक्टरले आजैको पिसिआर रिपाेर्ट चाहिन्छ भनेर भर्ना गर्न मानेनन्, अहिले उहाँलाई धेरै गाह्रो भएको छ, पहिले पनि उपचार गरेको हो, भर्ना गरेर उपचार शुरु गर्नुहोस्, हामी पिसिआर रिपोर्ट पनि ल्याउँछौं भन्दा पनि अस्पतालले भर्ना गरेन,’ बानुका एक आफन्तले भने।
ब्रोंकाइटिसकी बिरामी बानुको उपचार पाउने अभिलाशाले अनुनय गर्दा पनि अस्पतालले भर्ना नगरेपछि अढाई घण्टापछि साढे ८ बजे त्यहाँबाट एम्बुलेन्समा राखेर उनलाई स्टार हस्पिटल लगियो।
त्यतिञ्जेलमा उनको स्वास्थ्य निकै बिग्रिसकेको थियो। हिमाल हस्पिटलकै एम्बुलेन्समा राखेर सानेपास्थित स्टार हस्पिटलमा लगियाे। तर, एम्बुलेन्समा रहेका अक्सिजन सिलिन्डर खालीजस्तै थियाे। जसले २ मिनेट पनि काम गरेन।
‘सिलिन्डर थियो, तर अक्सिजन थिएन, स्टार हस्पिटल पुर्याइञ्जेलमा उहाँ अचेत हुनुभयो, ९ बजे स्टार हस्पिटल पुर्याउँदा डाक्टरले किन ढिलो गर्नुभयो भनेर प्रश्न गरे,’ ती आफन्तले भने।
एम्बुलेन्समा राखेर बिरामीलाई स्टार हस्पिटल पठाउँदा पनि हिमाल हस्पिटल प्रशासनले लापरबाही गरेकाे मृतकका आफन्तकाे ठहर छ।
‘अढाई घण्टासम्म उपचार नगरे पनि कम्तिमा एम्बुलेन्समा अक्सिजन उपलब्ध गराएको भए बिरामीको अवस्था गम्भीर हुने थिएन,’ ती आफन्तले भने, ‘एम्बुलेन्समा अक्सिजनसहित आवश्यक सामग्रीको प्रबन्ध हुन्छ र हुनुपर्छ, बिरामीको अवस्था गम्भीर भएपछि अक्सिजन नभएको सिलिन्डर पठाएर हस्पिटलले गम्भीर गल्ती गरेको हो।’
स्टार पुर्याएपछि...
स्टार हस्पिटलमा पुर्याएपछि सिधैँ आकस्मिक कक्षमा राखियो। केहीबेर उपचार चल्यो। हिमाल हस्पिटलबाट स्टारमा पुर्याउँदा रुमी बानुको अवस्था गम्भीर भइसकेकाले आइसियूमा राख्न डाक्टरले सल्लाह लिए।
बानुका आफन्तलाई केही आशा पलायो। तर, स्टार हस्पिटलले शुक्रबारकै पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाणले भर्ना लियो। स्टार हस्पिटलको आइसियू र भेन्टिलेटर खाली नभएपछि अर्को हस्पिटलमा लाने तयारी भयो।
आइतबारको पिरिआर परीक्षण रिपोर्ट २ बजे आउने भनिएको थियो। तर, बानुको स्वास्थ्य गम्भीर रहेकाले मध्यान्ह १२ बजे ग्रिनसिटी हस्पिटल पु¥याइएको ती आफन्तले बताए। र, भेन्टिलेटरमा राखेर उपचार शुरु गरियो।
परिवारका सबैको रिपोर्ट नेगेटिभ, बानुको पोजिटिभ !
शुक्रबारको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि आइतबार राति ९ बजे आएको रिपोर्टमा पोजिटिभ देखिएको ती आफन्तले बताए।
‘हामीले उहाँको सम्पूर्ण रेखदेख गरेका हौँ, तर, परिवारका कसैलाई पनि कोरोना पोजिटिभ रिपोर्ट आएको छैन, तर आश्चर्यको कुरा, उहाँलाई मात्रै पोजिटिभ देखियो,’ ती आफन्तले भने।
‘डाक्टर रमिते भन्दा र उपचारमा ढिलाई हुँदा मृत्यु’
काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलको गैरजिम्मेवारीले बानुको मृत्यु भएको पारिवारको आरोप छ। शुरुमै भर्ना गरेर सामान्य उपचार पाएको भए बिरामीको ज्यान जोगिन सक्ने आफन्तको दावी छ।
मृतकका आफन्तले अस्पतालमा आएका बिरामीको उपचार गर्नुपर्छ भन्ने सामान्य स्वास्थ्य सिद्धान्त र न्यूनतम् मानवीय मूल्यलाई हिमाल हस्पिटलले पालना नगरेको ती आफन्तले बताए।
बानुका आफन्तहरूले हिमाल हस्पिटलविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्। आइतबार बिहान हिमाल हस्पिटलमा पुर्याइएकी बानुलाई आकस्मिक कक्षमा भर्ना लिन नमान्दा उनको ज्यान गएको परिवारको आरोप छ।
‘आइतबार बिहान ६ बजे हिमाल हस्पिटल पुर्याएका थियौं, तर अस्पतालले पिसिआर रिपोर्टको बहाना गरेर बिमारी भर्ना गर्न मानेन, २ घण्टासम्म उहाँको उपचार नभएपछि स्वास्थ्य गम्भीर भइसकेको थियो,’ बानुका एक आफन्तले भने।
बानुको शुक्रबार मात्रै पिसिआर परीक्षण गरिएको थियो। हिमाल अस्पतालका डाक्टरले आइतबारकै पिसिआर परीक्षण रिपोर्ट मागेपछि उनको उपचारमा ढिलाई भयो।
‘आइतबारको रिपोर्ट नभए उपचारै नगर्ने बताएर डाक्टरले अढाई घण्टासम्म बहस गरे, पिसिआर रिपोर्ट आउँछ, सुरक्षित रुपमा उपचार शुरु गर्नुहोस् भन्दा पनि भर्ना दिइएन,’ ती आफन्तले भने।
त्यसपछि उनलाई स्टार हस्पिटल हुँदै ग्रिनसिटी अस्पताल पुर्याइयो। बुधबार साँझ बानुको मृत्यु भयो। पीडितका आफन्तले हिमाल हस्पिटलले बेलैमा उपचार सेवा दिएको भए बिरामीको ज्यान जोगिनसक्ने दावी गरेका छन्।
‘पहिले पनि गाह्रो भएर उपचार गराएको हो, तत्काल उपचार गर्दा उहाँको जीवन जोगिने थियो, तर हिमाल हस्पिटलले गैरजिम्मेवारीपूर्ण व्यवहार गर्दा उहाँको ज्यान गयो,’ ती आफन्तले भने।
‘प्रशासनको निर्देशनअनुसार भर्ना नगरिएको हो’
हिमाल हस्पिटलका एक मेडिकल अफिसरले अहिलेको अवस्थाका कारण नै कोभिडका बिरामीहरूलाई हिमाल हस्पिटलले नलिने बताएका छन्। अन्यको उपचार भइरहेको उनले बताए।
‘काठमाडौंका हस्पिटल कोभिड र ननकोभिड छन्, हाम्रो हस्पिटल ननकोभिड हो, त्यसैले बिरामी नलिएको हो,’ उनले भने, ‘कोरोनाको सामान्य लक्षण देखिए पनि हामी लिदैनौं।’
तर, हिमाल हस्पिटलमा उपचारमा भएको ढिलाईका कारण बिरामीको मृत्यु भएकोमा उनले दुःख व्यक्त गरेका छन्। ‘अवस्था यस्तै छ, हामीले पनि सुरक्षित रहनुपर्यो,’ ती आफन्तले भने, ‘उपचारमा भएको ढिलाईले बिमारीको ज्यान जानु हुँदैनथियो।’