सुनसरी– आर्थिक प्रलोभन देखाई युवतीलाई भारत लैजान खोज्ने ४ जनालाई प्रहरीले सुनसरीको इनरुवाबाट पक्राउ गरेको छ। मोरङका तीन युवतीलाई भारतमा राम्रो पैसा कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी भारत लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २ जना भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीले इनरुवा नगरपालिका ८ का सचिन मेहता र विराटनगर १७ का २४ बरुणकुमार मण्डलसँगै भारतको विहार राज्यको अररिया जिल्ला चहटपुर ग्राम पञ्चायत ७ का दिलीप साह र ३५ वर्षीय दिलीप यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयको टोलीले गढी गाउँपालिकाको औरावनीको भमरी चोकमा चेकजाँच गर्दा शंकास्पद देखिए पछि आवश्यक अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको हाे।
युवतीहरु ओसारपसारमा संलग्न देखिएपछि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। पक्राउ परेका चार जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ वमोजिम कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ।