एजेन्सी– अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन्। भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।
हालसम्म बाइडनले २६४ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् । बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै बाइडेन जित नजिक पुगेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ । अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए ।
त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन् ।