अनलाइन सपिङ स्टोर सस्तोडिल डटकमले ग्राहकको पैसा २० दिनपछि फिर्ता गरेको छ। काठमाडौंका अरुण मरानिसी (नाम परिवर्तन)ले अर्डर गरेको सामानको पैसा फिर्ता नभएको समाचार नेपाली पब्लिकमा प्रकाशित भएपछि सस्तोडिलले रकम फिर्ता गरेको हो।
गत असोज २९ गते सस्तोडिलमार्फत् स्मार्टफोन बुक गरेका मरासिनीले बिहीबार बिहान ११ बजेसम्म सामग्री पाएका थिएनन्। नेपाली पब्लिकमा समाचार प्रकाशित भएपछि सस्तोडिलले दिउसो पौने १ बजे पैसा फिर्ता गरेको हो।
२६ हजार रुपैयाँको स्मार्टफोन अर्डर गरेका मरासिनीले असोज २९ गते नै ईसेवामार्फत् पैसा भुक्तानी गरेका थिए। तर, उनले अर्डर गरेको सामग्री दुई दिनमा घरमा पुगेन।
एक सातापछि कात्तिक ५ गते ‘सस्तोडिल’ले स्मार्टफोन उपलब्ध गराउन नसक्ने जानकारी दिँदै क्यान्सिल गरिदियो। त्यसपछि मरासिनीले दिनैपिच्छे आफ्नो रकम फिर्ता दिन ‘सस्तोडिल’मा दिइएको नम्बरमा फोन गर्न थाले।
‘अरु नम्बर थिएन, कम्पनीको ०१–५९७०००० को टेलिफोनमा कयौं पटक फोन गरेँ, तर पैसा फिर्ता भएको छैन,’ मरासिनीले नेपाली पब्लिकसँग भने, ‘हैरान पारेको छ, पैसा पनि दिँदैन, सामान पनि दिँदैन।’
मरासिनीको फोन गर्न सम्बन्धित शाखामा जानकारी गराइएको र रकम फिर्ती प्रोसेसमा रहेको बताउने जवाफ दिनैपिच्छे पाउथे। ‘तर, रकम अहिलेसम्म आएको छैन, अब कसरी आफ्नो पैसा लिने भनेर मिडिया गुहारेको हुँ,’ उनले भने।
ग्राहकको गुनासोपछि ‘सस्तोडिल’को सोही टेलिफोनमा नेपाली पब्लिकले आइतबार बिहान सम्पर्क गर्दा रेडिमेड जवाफ आयो। ‘हामीले जानकारी गराएका छौं, प्रोसेस हुँदैछ’ यही जवाफ दोहोरिएपछि ठगीको समाचार प्रकाशित गरिएको थियो।
सस्तोडिलले काठमाडौंका विभिन्न स्थानमा स्टोर राखेर सामग्री बिग्री गर्दै आएको छ। त्रिपुरेश्वरस्थित सानिमा बैंकको बिल्डिङमा कार्यालय राखिएको छ। र, सोही स्थानबाट मुख्य कारोबार हुन्छ।
तर, अर्डर अनुसारको सामग्री उपलब्ध गराउन र तिरेको पैसा महिनौँसम्म फिर्ता नगर्ने ‘सस्तोडिल’को ‘राम्रो सेवा’मा ग्राहकले प्रश्न उठाएका छन्। ‘कि सामान दिनुपर्छ, सामान नभए पैसा फिर्ता गर्नुपर्छ,’ मरासिनीले भने, ‘पैसा लिने, सामान नदिने र ग्राहकलाई अनावश्यक तनाव दिनु आर्थिक अपराध हो।’
‘राम्रो सेवा’ प्रदान गर्ने नारा राखिएको सस्तोडिलमा सामग्री अर्डर गर्ने काठमाडौं उपत्यकाका उपभोक्ता आजित छन्। अनलाइनमा राखिएका सामग्री उपलब्ध गराउने र अर्डर गरेको दुई दिनमा सामान घरमै पुर्याउने भनिए पनि महिनौँ दिनसम्म पनि ग्राहकको घरमा सामान पुग्दैन।
त्यति मात्रै होइन, पैसा फिर्ता माग्दा विभिन्न बहाना गर्दा हप्तौंसम्म रकम फिर्ता नगरेको गुनासो ग्राहकले गरेका छन्। मरासिनीजस्ता कयौं ग्राहकलाई ‘सस्तोडिल’ले हैरान पारेको छ।