एजेन्सी– आइपिएल २०२० को प्ले अफ अन्तर्गतकाे पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनल प्रवेश गरेको छ। बिहीबार भएको खेलमा मुम्बईले दिल्लीलाई ५७ रनको फराकिलो हार चखायो।
पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको दिल्लीलाई उक्त हारले ठूलो धक्का लागेको छ। यद्यपी दिल्लीको आइपिएल २०२० को यात्रा भने अझै बाँकी नै छ। मुम्बईलाई पराजित गरेको भए दिल्ली सिधै फाइनल पुग्न सक्थ्यो तर त्यो सम्भव भएन।
हारपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्। उनले मुम्बईविरुद्ध राम्रो योजना बनाएकाे तर त्यसमा सफल हुन नसकिएको बताएका छन्। अन्तिम ओभरतिरको खराब बलिङका कारण ठूलो चुनौति पाएको भन्दै पोन्टिङले लक्ष्य पछयाउने क्रममा पनि खराब शुरुवात भएको बताए।
दिल्लीले अब फाइनलमा स्थान पक्का गर्नको लागि शुक्रबार हुने इलिमिनेटर खेलको विजेतालाई पराजित गर्नुपर्नेछ। इलिमिनेटर खेल सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरबिच नेपाली समयअनुसार शुक्रबार साँझ ७ः४५ बजे शुरु हुनेछ।