एजेन्सी– आइपिएल २०२० को इलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरबिच शुक्रबार महाभिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे अबुधाबीको शेख जायद स्टेडियममा शुरु हुनेछ।
आजको खेलमा दुबै टोली गर या मरको स्थितिमा हुनेछन्। इलिमिनेटरमा पराजित हुने टोलीको आइपिएल २०२० को यात्रा यहीँ समाप्त हुनेछ। त्यसकारण दुबै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रनेछन्।
पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा रहेको ब्याङ्ग्लोर र सन् २०१६ को आइपिएल विजेता हैदराबादबिचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यस्तो छ हालसम्मको तथ्याङ्क :
आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा यी दुई टोली १७ पटक आमनेसामने भएका छन्। तीमध्ये एक खेल नतिजाविहीन भएको छ। हैदराबादले ९ खेलमा जित निकालेको छ भने ब्याङ्ग्लोर ७ खेलमा विजयी भएको छ।
आइपिएल २०२० को लिग चरणको दुई खेलमा यी टोलीको भेट भएको थियो। लिगको पहिलो खेलमा ब्याङ्ग्लोर १० रनले विजयी भएको थियो भने दोस्रो खेलमा हैदराबाद ५ विकेटले विजयी भएको थियो।
शुक्रबारको खेलमा विजयी भएको टोलीले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ।