कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्किदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा जाजरकोटका ३२ वर्षीय दीपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ वर्षीय पलबहादुर पुन रहेका छन्। उनीहरू ४ नोभेम्बर, २०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन्।
दुर्घटनामा अर्का एक विदेशी नागरिक पनि परेका छन्। नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरीत दिशाबाट आएको अर्को सवारीसाधनले ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको बताए।
जाजरकोटका दीपक सिंह ठकुरीको ४ नोभेम्बर बुधबारकै दिन र पलबहादुर पुनको ५ नोभेम्बर बिहीबारका दिन उपचारको क्रममा मृत्यु भएको जानकारी आएको सिलवालले बताए।
‘अर्का एक विदेशी नागरिक पनि दुर्घटनामा परेका छन्, उनीहरूको कम्पनीले राजदूतावासमा सम्पर्क गरिसकेको र मृतकहरूका परिवारसँग समन्वय गर्दै कानूनी प्रक्रियामा दूताबास लाग्ने छ,’ सिलवालले भने।
यसैबीच, नेपाली युवाको मृत्युपछि परिवारमा शोक छाएको छ। तिहारको मुखमा दुई नेपाली युवाले कुवेतमा ज्यान गुमाएका हुन्।