एजेन्सी – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान प्रक्रिया जारी छ। अझै पनि यो प्रक्रियाले विजेताको टुङ्गो लागिसकेको छैन।
निर्वाचनमा भइरहेको मतगणनाको विषयमा दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले निरन्तर सामाजिक सञ्जाल ट्वीटरमार्फत आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
यसबीचमा ट्रम्पले एउटा ट्वीट गरेका थिए – स्टप द काउन्ट अर्थात् मतगणना रोकियोस्। यो ट्वीटलाई रिट्वीट गर्दै पर्यावरण संरक्षणकी अभियन्ता ग्रेटा टुनबर्गले लेखेकी छिन्, ‘धेरै हास्यास्पद। डोनाल्डले पहिला आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरूसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ। चिल डोनाल्ड चिल।’
सन् २०१९ मा टाइम पर्सन अफ द इयर टुनबर्गलाई दिने निर्णय भएसँगै ट्रम्पले ट्वीट गरेका थिए – धेरै हास्यास्पद। ग्रेटाले आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ। चिल ग्रेटा चिल।