सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा बसेको छ।
बैठकमा प्रधानमन्त्री केपी ओली पक्षका २ नेता र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित रहे। बैठकमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्।
ओलीसँगै सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णुप्रसाद पौडेल पनि बैठकमा गएनन्। प्रचण्डले प्रधानमन्त्री ओलीलाई जानकारी दिएरै धुम्बराहीमा बैठक बोलाएका हुन्।
यसअघि, कात्तिक १६ गते प्रचण्ड निवास खुमलटारमा भएको भेलामा गृहमन्त्री थापा सहभागी भएका थिए। यस पटक थापाले गुटको बैठकमा सहभागी नहुने बताएका छन्।
धुम्बराही छलफल सकिएपछि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने उनको सचिवालयले जाकारी दिएको छ।