गोर्खा ब्रुअरीले उत्पादन गरेकाे टुबोर्ग बियरमा अखाद्य वस्तु भेटिएको छ। काठमाडौं अनामनगरस्थित एक रेष्टुरेण्टमा उपभोक्ताले अर्डर गरेको बियरमा लेदो र अखाद्य वस्तु भेटिएको हो।
उपभोक्ता पुनम सापकोटाले गिलासमा बियर राखिसकेको अवस्थामा अखाद्य वस्तु फेला परेको बताए। ‘दुई वटा बियर मगाएर गिलासमा हाल्न वेटरलाई लगायौं,’ उनले भने, ‘लेदो लेदोजस्तो वस्तु मैले देखें।’
गोर्खा ब्रुअरीको यसअघि पनि विभिन्न माध्यमबाट कमसल वस्तु उत्पादन गरेको जानकारी पाए पनि आज प्रत्यक्ष आफ्नै आँखाले देखेपछि थप प्रमाणित भएको उनको आरोप थियो। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम्पनीलाई हदैसम्म कारवाही हुनुपर्ने उनीले बताए।
बोत्तलबाट गिलासमा बियर खनाउँदा खनाउँदै एकाएक अखाद्य वस्तु भेटिएपछि आफूहरुले त्यतिकै छाडेको उपभोक्ता पंकज झाले बताए।
‘भित्रबाट वेटर भाइ आउनुभयो, गिलास सफा छ, पुनम दाईको गिलासमा खनाउनुभयो,’ उनले भने, ‘एक्कासी बोत्तलबाट लाफ्रा जस्तो निस्किन्छ, अब यो गोर्खा ब्रुअरीले के गर्न खोजेको हो भन्ने जस्तो भयो।’
रेष्टुरेण्टका स्टाफले आफूले भित्र लगेर बोत्तल हेर्दासमेत लेदो पदार्थ देखेको बताए। लेदोका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्ने स्वास्थ्यक्षेत्रका विज्ञहरूले बताएका छन्।
यसअघि असोजमा पनि उक्त कम्पनीका विभिन्न ब्रान्डका बियर मापदण्डविपरित भएको तथ्य सार्वजनिक भएको थियो। कार्ल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरित उत्पादन भई बिक्री भएको दावी गर्दै आन्तरिक राजस्व विभागले कारवाही गरेको थियो। विभागले कारवाही स्वरुप त्यस्ता बियर विक्री गर्न रोक लगाएको थियो।
बियरमा जौको मात्र ५० प्रतिशत हुनुपर्नेमा कम्पनीले त्यसको साटो कमसल खालको कनिका प्रयोग गरेको विभागले बताएको थियो। कोरोना महामारीका कारण अनुगमन नहुने मौका छोपेर कम्पनीले मापदण्ड विपरित कार्य गरेकाले विभागले १ हप्तासम्म कम्पनी बन्द गरेर अनुसन्धान थालेको थियो।
त्यस्ता बियरलाई विभागले लोकल रक्सीको वर्गीकरणमा राखेको थियो। जसकारण ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएको खबर विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो।
हावा छिरेर त्यस्तो भएकाे हुनसक्छः गोर्खा ब्रुअरी
यसैबीच, गोर्खा ब्रुअरीले ग्यासको कम्पोजिसबाट बनेको बियर प्याक गरिसकेपछि हावा छिरेर त्यसो भएको हुनसक्ने बताएको छ।
कम्पनीका एक उच्च अधिकारीले कारखानाबाट काठमाडौं ल्याउने क्रममा कहिलेकाही बोतल ठोकिएर हावा छिर्न सक्छ,’ ती अधिकारीले भने, ‘ग्यासको प्रतिक्रियाबाट लेदो बन्न सक्छ।’
यस्ता प्रकारका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता ती अधिकारीले व्यक्त गरेका छन्।