एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणसम्म आइपुग्दा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर(आरसीबी) ले एकपटक पनि उपाधि हात पार्न सकेको छैन। आरसीबी आइपिएल २०२० को उपाधि जित्दै पहिलो पटक आइपीएल च्याम्पियन बन्ने धेरैले आशा गरेका थिए।
तर जारी सिजनको इलिमिनेटरमा सनराजर्स हैदराबादसँग पराजित भएसँगै आइपिएल च्याम्पियन बन्ने आरसीबीको सपना फेरी एकपटक चकनाचुर भयो। शुक्रबार भएको इलिमिनेटरमा हैदराबादसँग ६ विकेटले पराजित भएसँगै आरसीबी आइपिएल २०२० बाट बाहिरियो।
विराट कोहलीको कप्तानीमा रहेको आरसीबीले आइपिएल २०२०को लिग खेलमा खराब शुरुवात गरेपनि पछिल्ला खेलहरुमा उत्कृष्ट पुनरागमन गरेको थियो। कोलकता नाइट्राइडर्सलाई नेट रन रेटमा पछि पार्दै प्ले अफमा स्थान बनाएको आरसीबी इलिमिनेटरमा हैदराबादसँग स्तब्ध बन्यो।
आइपिएलमा आरसीबीले पाएको यो नै पहिलो धक्का भने हैन। अघिल्ला केहि सिजनमा आरसीबी फाइनलमा पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो। आइपिएलका यसअघिको ३ सिजनमा आरसीबी फाइनलसम्म पुगेको थियो तर फाइनल खेलमा जित निकाल्न नसक्दा ३ पटक नै आइपिएल च्याम्पियन बन्न असफल भयो।
आरसीबी आइपिएल २००९, २०११ र २०१६ को उपविजेता हो। २००९ को फाइनलमा आरसीबी डिक्यान चार्जर्ससँग, २०१२ मा चेन्नई सुपर किङ्ग्ससँग र २०१६ मा हैदराबादसँग पराजित भएको थियो।