काठमाडाैं– पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५ शीर्ष नेताले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामु लिखित पत्र पेश गरेका छन्।
लिखित पत्र पेस गर्नेमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन्। पछिल्लो समय नेकपामा दरार बढेसँगै छलफलका लागि ५ शीर्ष नेताको टोली शनिबार बालुवाटार गएको थियो।
लिखित पत्रमा पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटिएको छ। प्रधानमन्त्री ओलीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको नेकपाका एक नेताले बताए।