बागलुङ - पहिरोले क्षति पुर्याएको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य भएका छन्। बागलुङको जैमिनी नगरपालिका–१० राङखानी किटेनीमा रहेको जनता प्राथमिक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुलाई खुला चौर र सामुदायिक भवनमै वैकल्पिक सिकाइमा सहभागी गराइएको हो। फलस्वरुप विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
किटेनी, कालाखोला, धुल्लुबास्कोट सडकको नयाँमार्ग खुलाउँदा बनाइएका घुम्तीहरुका कारण विद्यालय भवन भाँसिएपछि जनता प्राथमिक विद्यालय विस्थापित बनेको हो। स्थानीय शिक्षासेवीहरुले २०४३ सालमा यो विद्यालयको जग बसालेका थिए।
स–साना बालबालिकालाई टाढा रहेका विद्यालयमा पुग्न असहज भएको भन्दै ३४ वर्षअघि बसालिएको जग यसवर्षको वर्षामा भाँसिएको विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य ८० वर्षीय खडकबहादुर श्रीसले जानकारी दिए।
‘गाडी चढ्ने सपनाले शिक्षाको ज्योती दिने भवन भाँसियो’, उनले भने, ‘सडक खन्दा फेरो नहालेको भए जमिन राम्रै थियो।’ सडक निर्माणका क्रममा भवनको माथि भएर एक घुम्ती र भवन मुनिको भागमा दुई घुम्ती बनाइएको छ।
‘गत असार १२ गते रातिको पानीले घुम्ती बनाउँदा थर्केको जमिन भाँसियो, भवन कामै नलाग्ने भएका छन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले भने, ‘यहाँबाट विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ।कहाँ लैजानु, कसैले चासो दिएनन्।’
विद्यालय भवन रहेको जमिन चर्किने र धाँजा फाट्ने भई दुई वटै भवन बस्न नमिल्ने गरी भत्किएका छन्। ट्रसले निर्माण गरिएको दुईकोठे भवन भाँसिएको छ। ढुङ्गाले छाएको अर्को दुईकोठे भवनसमेत पूर्ण रुपमा भत्किएको विद्यालयले जनाएको छ। भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठा भित्रको भुइँ, छानो र पर्खाल पूर्णरुपमा क्षतिग्रस्त भएको प्रधानाध्यापक कृष्णा कुमारी श्रीस थापाले बताए।
भवन अभावका कारण विद्यालयले महिला समूहले बनाएको सामुदायिक भवनमा राखेर विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहभागि गराएको उनको भनाइ छ। यो विद्यालयमा ३० विद्यार्थी अध्ययनरत छन्। दुई सरकारी दरबन्दी, एक राहत कोटा, एक कर्मचारी र दुई स्थानीय स्रोतका शिक्षकबाट पठनपाठन हुँदै आएको छ।
विद्यालय व्यवस्थापन समितिले वडादेखि नगर र प्रदेशसम्म विद्यालय भवन भाँसिएको सन्देश पठाएको छ। नगरपालिकाको प्राविधिक टोलीले अध्ययन गरेको भएपनि अहिलेसम्म कुनै सुझावसमेत नपाएको उनको गुनासो छ। जैमिनी नगरपालिकाको प्राविधिक टोलीले पनि बाटोका कारण विद्यालयमा क्षति पुगेको नगरप्रमुखलाई जानकारी गराएको छ।
‘सडकका कारण विद्यालयमा क्षति पगेको छ। क्षतिग्रस्त विद्यालय भवन बनाउने तत्काल कुनै योजना छैन्’, नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘सरोकारवाला निकायमा यस सम्बन्धी आवश्यक कागजात पेश भएको छ।’