एजेन्सी– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित लगभग पक्का भइसकेको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई निकै मतान्तरले पछि पारिरहेका छन्।
बाइडेनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन्। जितका लागि उनलाई अब थप ६ इलेक्टोरल भोटको आवश्यक छ। २७० इलेक्टोरल भोटको नजिक रहेका बाइडेनमाथि निर्वाचनमा झाँझली गरेको आरोप लागेको छ।
यसअघि नै ट्रम्पले निर्वाचन स्वच्छरुपले नभएको भन्दै मतगणना रोक्न गरेको माग अदालतले खारेज गरेको थियो। यसैबिच शुक्रबार पेन्सिलवेनियाको मतदाता सुचिमा २१ हजार मृत मानिसको नाम रहेको विषय निकै भाइरल भयो। उक्त भाइरल दाबीमा २१ हजार मरिसकेका व्यक्तिको नामबाट बाइडेनलाई मत हालिएको बताइएको थियो।
तर उक्त कुरा झुट भएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जानकारी दिएको छ। कसैले गलत अफवाह फैलाएको र त्यही अफवाह भाइरल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।