संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन्।
राष्ट्रपतीय निर्वाचनमा महत्त्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जीत हात पारेका हुन्। यो परिणामसँगै बाइडेन ह्वाइट हाउसमा पुग्ने भएका छन्।
पछिल्लो परिणामसँगै बाइडेनले २ सय ९० इलेक्टोरल ल कलेज भोट प्राप्त गरेका छन्। अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५ सय ३८ इलेक्टोरल कलेज प्रतिनिधि छानिन्छन्। अमेरिकामा राष्ट्रपति बन्न २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ।
निर्वाचन परिणामको आउन लाग्दा बाइडेन केही महत्त्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए। पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालतको प्रक्रिया शुरु गरेका छन्। यसले अमेरिकी राष्ट्रपतिको विवाद अझै केही समय चल्न सक्ने सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।