काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन्। नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत्पोल फेरिएको जनाइएको छ ।
पाँचखाल नगर क्षेत्रका आठ हजार जीर्ण पोलमध्ये छ हजार विद्युत्पोल फेरिएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए। उनका अनुसार नगरसँग विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौताअनुसार हाल भित्री शाखा लाइनसहित छ हजार पुराना पोल फेरी स्टिल तथा सिमेन्टका विद्युत्पोल फेरिएको हो।
‘पोल फेरी विद्युत् लाइनको स्तरोन्नतिसमेत गरिरहेका छौँ’, ढकालले भने। मुख्य लाइनका ३०० पुराना विद्युत्पोल फरिएको केन्द्रले जनाएको छ। कुनै समय विद्युत् जडानका लागि हरिया रुख र बाँस गाडेर घरघरमा विद्युत् लाइन पुर्याइएकाले हाल जीर्ण भई दुर्घटनाको जोखिमका कारण स्टिल र सिमेन्टका पोल फरिएको नगरप्रमुख महेश खरेलले बताए।
उनले भने, ‘पाँचखालमा विद्युत् लाइन स्तरोन्नतिसँगै विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्दैछौँ।’ उनका अनुसार २०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ।
केन्द्रअन्तर्गतका चार स्थानीय तहका ७५ प्रतिशत जीर्ण विद्युत्पोल फेर्ने काम सकिएको जनाइएको छ। साथै पाँचखालमा केन्द्र स्थापनापछिको एक वर्षको अवधिमा चार स्थानीय तहमा विद्युत् चोरीमा संलग्न ४०० ग्राहकलाई कारवाही गरिएको छ।
कारवाहीबाट रु १८ लाख जरिवाना असुल गरेको केन्द्र प्रमुख ढकालले बताए। उनका अनुसार ७५० को विद्युत् लाइन काटिएको तथा एक हजार ५०० नयाँ ग्राहक थपिएका छन्।
ढकालका अनुसार हुकिङ गरी विद्युत् प्रयोग गर्ने र मिटर बाइपास गरेकाको विद्युतीय सामग्री जफत गरिएको थियो। जफत सामग्री लिन आउँदा कुन क्षमतामा विद्युत् अपचलन गरेको हो सोहीअनुसार जरिवाना गरी पठाइने प्रावधान रहेको छ।
राम्रो काम गरेकामा पाँचखाल केन्द्र रनेपालभरबाट उत्कृष्ट शाखाका रूपमा हालै सम्मानितसमेत भएको छ।