नख्खु जेल ‘ब्रेकर’का रुपमा परिचित तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।
मिर्गौलाको रोगबाट पीडित लामाको ललितपुरको पाटन अस्पतालमा उपचाररत रहँदा आइतबार बिहान ४ बजे निधन भएको हो।
पारिवारिक श्रोतका अनुसार निमोनिया देखिएपछि लामालाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो।
कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको परिवारका एक सदस्यले बताए।
वि.सं. २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरे लगायतका १५ नेता नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए।
वामपन्थी योद्धा लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। त्यसैगरी, तत्कालीन एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पनि उनले काम गरेका थिए।