एजेन्सी– इन्डियन प्रिमियर लिग(आइपिएल) २०२० को दोस्रो क्वालिफायर खेलमा आइतबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुँदैछ। खेल शेख जायद स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ।
आइतबारको खेलमा विजयी हुने टोलीले मुम्बई इन्डियन्ससँग आइपिएल २०२० को उपाधि भिडन्त पक्का गर्नेछ भने पराजित टाेलीकाे आइपिएल २०२० काे यात्रा सकिने छ। त्यसकारण दुबै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रनेछन्।
फाइनल प्रवेशका लागि भएको पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित दिल्ली र इलिमिनेटरमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरलाई पाखा लगाएको हैदराबादबिचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। दिल्ली पहिलो पटक आइपिएल च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ भने हैदराबाद आइपिएल २०१६ को च्याम्पियन हो।
आइपिएलका १७ खेलमा यी दुई टोली आमसनेसामने भएका छन् जसमा हैदराबाद बलियो देखिएको छ। हैदराबादले १७ मध्ये ११ खेल आफ्नो पक्षमा पारेको छ भने दिल्लीले ६ खेलमा मात्र जित निकालेको छ। आइपिएल २०२० को लिगका २ खेलमा दिल्लीविरुद्ध हैदराबाद हाबी भएको थियो। पहिलो खेलमा दिल्लीलाई १५ रनले हराएको हैदराबादले दोस्रो खेलमा ८८ रनको जित निकालेको थियो।
श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली सन्तुलित टिम हाे भने डेविड वार्नरको कप्तानीमा रहेको हैदराबाद जुनसुकै अवस्थामा खेलको नतिजा उल्टाउन सक्ने टिम हो। यसकारण पनि दुई टोलीको महाभिडन्त हेर्नलायक हुने आशा गरिएको छ।