प्रहरीले मकवानपुरमा गत शुक्रबार एक युवकको हत्यामा संलग्न भएको अभियोगमा उनकै साथीलाई पक्राउ गरेको छ।
बकैया गाउँपालिका–४ नयाँदमारका २० वर्षका विकास वाइबाको हत्यामा संलग्न भएको अभियोगमा २० वर्षका शंकर भन्ने भीमराज भोलनलाई पक्राउ गरेको छ।
भोलनले वाइबामाथि पटक–पटक खुकुरी प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले उल्लेख गरेको छ। मकवानपुर प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले अभियुक्तलाई शनिबार ललितपुरबाट पक्राउ गरिएको बताएका हुन्।
आइतबार पत्रकार सम्मलेन गरी रानाले दिएको जानकारी अनुसार भोलन र वाइबा साथी हुन्। दुवै लागूपदार्थ दुर्व्यसनीमा फसेको खुलेको छ।
शुक्रबार भोलन हत्या भएका वाइबाको घर पुगेका थिए। खाजा खाएर निस्किएपछि भोलन र वाइबा सिमाद खोलाको बगरमा रहेको फुटबल मैदान पुगे।
त्यतिकैमा भोलन र वाइबाबीच विवाद भयो। र, भोलनले वाइबामाथि खुकुरी प्रहार गर्न थाले। वाइबा भाग्न खोज्दा पनि भोलनले लखेटेर पटक–पटक खुकुरी हाने।
छुट्याउन गएकाहरू पनि भोलनलाई रोक्न नसकेको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै डिएसपी रानाले जानकारी दिए। प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरेको छ।
साथीको हत्यापछि जंगलतर्फ भागेका भोलनलाई पक्राउ गर्न मकवानपुर कार्यालय र मातहत कार्यालयबाट टोली खटाइएको थियो।
त्यसपछि भोलन काठमाडौं भोगेको जानकारी आएपछि प्रहरी उपत्यकामा केन्द्रित भयो। र, ललितपुरबाट उनी पक्राउ परे। अभियुक्त भोलनले आफूलाई ‘हेपेको र होच्याउने गरेकाले’ हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।