काठमाडौं– शैक्षिक व्यवसायी तथा सामाजिक अभियानता श्रीराम पौडेलले काठमाडौँको कीर्तिपुरस्थित माया घरका बालबालिकाको अध्ययनका लागि सहयोग गरेका छन् । सामाजिक सञ्जाल टिकटक मार्फत भएको आम्दानी र दाताबाट प्राप्त सहयोग जोडेर पौडेलले माया घरलाई सहयोग गरेका हुन् ।
उनले माया घरमा रहेका १५ जना बालबालिकाको एक वर्षको शैक्षिक खर्च बापतको ९० हजारको चेक माया घरकी सञ्चालक दुर्गा पौडेल आचार्यलाई हस्तान्तरण गरे । माया घरमा हाल २४ जना बालबालिका संरक्षित छन् । जसमध्ये १५ जनाको एक वर्षको विद्यालय शुल्क बापतको रकम रु ९०,००० सहयोग गरेको अभियन्ता पौडेलले बताए ।
टिकटकमार्फत भएको आम्दानी र सोहीमार्फत आफ्नो अभियानमा जोडिएका साथीहरुको सहयोगमा यो रकम उपलब्ध गराइएको उनले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अभियन्ता पौडेलले माया घरले गरेको मानवसेवामा आफू पनि जोडिन पाउँदा खुसी लागेको बताए । ‘ठूलो मानवीय कार्यमा मैले सानो सहयोग गर्ने मौका पाएँ यसको लागि आभारी छु’ उनले भने, ‘मानव कल्याणकालागि माया घरले गरेको कार्यमा म निरन्तर जोडिन चाहन्छु ।’
कार्यक्रममा माया घरकी सञ्चालक दुर्गा पौडेलले यस्तै सहयोगी दाताहरुकै माध्यमबाट माया घर सञ्चालनमा रहेको बताइन् । हालसम्म स्पष्ट र नियमित आम्दानी कुनै नभएकोले माया घर सञ्चालन गर्न कठिन भइरहेको उनको गुनासो थियो । दाताहरुकै कारण बालबालिकाहरु फरक–फरक विद्यालयमा पढिरहेकोले एकै ठाउँमा पढ्ने वातावरण निर्माण गर्न चाहेको पनि उनले बताइन् ।
भाडाको जग्गा भएकोले भाडा तिर्ने, बालबालिकाको खानपान र लालनपालन, विद्यालय तथा शैक्षिक शुल्क लगायतका खर्च जुटाउन हिजोदेखि आजसम्म पनि उस्तै कठिन भएको उनको भनाई थियो । अभियन्ता पौडेलले गरेको सहयोगबाट एक वर्ष विद्यालय शुल्कको चिन्ता लिनु नपरेको उनले बताइन् । उनले बालबालिकाको भविष्य सोचेर सहयोग गरिदिएकोमा पौडेललाई धन्यवादसमेत ज्ञापन गरिन् ।
पौडेलले टिकटकमार्फत पनि मानवसेवाका कार्य गर्न सकिन्छ, यसको सहि सदूपयोग गरेर सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि उनले बताइन् । कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ५ का वडासदस्य दिपेन्द्र विष्ट, सामाजिक अभियन्ता नारायण सुवेदी, पौडेलकी श्रीमती सीता पाण्डे पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडासदस्य विष्टले नगरपालिका र वडाकोतर्फबाट माया घरलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अभियन्ता पौडेलले टिकटकमा जोडिएर समाजसेवा गरेको यो तेस्रो पटक हो । उनले यसअघि टिकटकमार्फत भएको आम्दानी र अन्य सहयोगवापत संकलित रकमबाट मानव सेवा आश्रम र मातातीर्थ वृद्धाश्रम साथै ब्यक्तीगत रुपमा धेरैलाई सहयोग गरिसकेका छन् ।
टिकटकलाई मनोरञ्जनको साधनको रुपमा मात्रै प्रयोग नगरेर समाज र मानवसेवामा पनि प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण अभियन्ता पौडेलले दिएका छन् । उनको फलो गर्दै धेरै टिकटक युजरहरुले अहिले समाजसेवा र मानवसेवाको कार्य सुरु गरिसकेका छन् । उनको उक्त कार्यलाइ धेरैले साथ दिएका छन् ।
पौडेलको सामाजिक कार्यका प्रमुख सहयोगी प्रविण घिमिरे हुन् भने अनुपृया, श्रृजु थापा, दिपक अफिसीयल, परदेशी कान्छा, इट्स्स मी सारता, निहारीका खड्का, महेन्द्र राइ, गिता खड्का, कालीसीमा, गौरी तामाग, लभ एक्युरीयस, झमक, पारस थापा, मनिषा भट्ट, रेनु राइ, मन्जु शर्मा, अर्चना केसी, अकेसीया गुरुग, विजु लगाएतले पनि उनलाई साथ र सहयायोग गरेका थिए ।