एक नेपाली कामदारले देहत्याग गरेको छन्। सिन्धुलीको साविक हत्पते–६ घर भइ कुवेतमा कार्यरत ४२ वर्षीय सम्पथ अधिकारीले प्राण त्यागेका हुन्।
नोभेम्बर ७ शनिबार कुवेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा अधिकारी मृत भेटिएका हुन्। एक दशकयता उनी कुवेतमा कार्यरत थिए।
कोशेली समूह कुवेतका सदस्य माधव पौडेलका अनुसार अधिकारी १० वर्षदेखि कुवेतको सुल्तान कम्पनी अन्तर्गतको सेक्युरिटी सेक्सन अन्तर्गत एसटिएसजीमा काम गर्थे।
सम्बन्धित निकायले कानूनी प्रक्रियाका लागि शव लगिसकेको छ। मृतकका परिवारसँग सम्पर्क हुन सकेको नसकेको पौडेलले बताएका छन्।
यसैबीच, नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले घटनाका बारेमा प्रारम्भिक जानकारी दूताबासमा आए पनि पूर्ण विवरण आउन बाँकी रहेको बताए।
‘दूताबासले परिवार र कम्पनीसँग सम्पर्क गरी समन्वय गर्दै कानुनी प्रक्रियाका लागि सहयोग गर्ने छ,’ सिलवालले भने।
यसअघि, कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्किदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको थियाे।
मृत्यु हुनेमा जाजरकोटका ३२ वर्षीय दीपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ वर्षीय पलबहादुर पुन रहेका छन्। उनीहरू ४ नोभेम्बर, २०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त सडक दुर्घटनामा परेका हुन्।