रुकुम - लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो।
पछिल्ला केही वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयवासीले बताएका छन्।
स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुहरु पहिले जसरी सहजै रूपमा पाउन मुस्किल हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङका वडाध्यक्ष तोपे सेन ठकुरीले बताए।
विशेष गरेर राडीपाखी बनाउने चलन घट्दै गएको भन्दै उनले छोटो समय र कम मेहनतमै तयार पार्न सकिने सिरक बनाउनतर्फ मानिसहरु आकर्षित भएको बताए।
एउटा राडी (कम्बल) तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ, तर सिरक बनाउन थोरै समय लाग्ने भएकाले मानिसले राडीपाखी बनाउन छोड्दै गएको उनको भनाइ छ।
राडीपाखी तयार पार्न झन्झटिलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताले ध्यान दिएको छैन। बूढापुराना मानिसहरु सकिँदै गएको, नयाँमा सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि सीप सिक्नमा ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको वडाध्यक्ष सेनको भनाइ छ।
जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ। विगतका वर्षमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो।
एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु १० हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा–६ मयाङकी पूर्णचरी मल्लले बताए। भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पुर्याउन नसकिएको मल्लले बताए।
जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका ठाउँका मानिसहरले राडीपाखी तयार गर्ने गर्दछन्। बजारको माग अत्यधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडीपाखी खोज्दै घरमै पुग्ने गरेको मयाङका अर्का तारा सेनले बताए।
जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले पोखरा, काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ। जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत यहाँ रहेको छ।