एजेन्सी– आइपिएल २०२० को दोस्रो क्पवालिफायर खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग १७ रनले पराजित भयो। आइतरबार भएको खेलमा दिल्लीसँग हारेपछि हैदराबाद आइपिएल २०२० को फाइनल पुग्न सकेन।
सन् २०१६ को आइपिएल च्याम्पियन हैदराबादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरलाई पन्छाउँदै फाइनल जानको लागि दिल्लीसँगको भिडन्त पक्का गरेको थियो। उता दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इन्डिएन्ससँग पराजित भई दोस्रो क्वालिफायरमा झरेको थियो।
दिल्लीसँगको हारपछि हैदराबादका कप्तान डेविड वार्नरले हारको कारणबारे प्रतिक्रिया दिएका छन्। वार्नरले टिमले राम्रो बलिङ र ब्याटिङ गरे पनि फिल्डिङमा कमजोरी गरेको बताए।
सञ्चारकर्मीसँगको कुराकानीमा वार्नरले भने, ‘यदि तपाईँ क्याच मिस गरी मौका खेर फाल्नुहुन्छ भने तपाईँ खेल जित्न सक्नुहुन्न। मलाई लाग्छ हामिले बलिङ र ब्याटिङमा खराब प्रदर्शनपछि त्यसलाई सुधार्यौँ तर फिल्डिङमा गरेको प्रदर्शनले निराश बनायो।’
‘खेलाडी घाइते हुनु एक प्रमुख कारण बन्यो तर यसको बाबजुद हामि अघि बढ्नुपर्छ’, उनले थपे, ‘हामि यहाँसम्म आइपुग्छौँ भनेर कसैले विश्वास गरेको थिएन। यसकारण यहाँसम्म आइपुग्नुमा गौरव महशुस गरिरहेको छ।’
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली पहिलो पटक आइपिएल २०२० को फाइनल पुगेको छ। पहिलोपटक आइपिएल च्याम्पियन बन्ने प्रयासमा रहेको दिल्लीले उपाधिका लागि मंगलबार सबैभन्दा धेरै पटक (४) को आइपिएल च्याम्पियन मुम्बईको सामना गर्नेछ।