काठमाडौं – संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्नु भनी सरकारले दिएको निर्देशन कार्यान्वयन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।
समितिले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने सरकारको निर्णयबारे परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो। छलफलपछि समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
गत असोज ११ गते बसेको मन्त्रीपरिषदको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेको थियो। जसअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न निर्देशन दिएको थियो।
असोज २८ मा मन्त्रालयका तर्फबाट पठाइएको परिपत्रमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को ठाउँमा ‘नेपाल’ मात्र लेख्न उर्दी जारी गरेको थियो। परिपत्रमा भनिएको थियाे, ‘अंग्रेजीमा ‘फेडेरल डेमोक्य्राटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘नेपाल’ मात्र लेख्ने निर्णय मन्त्रिपरिषदबाट भएको छ।’
याे पनि पढ्नुहाेस् :
प्रधानमन्त्री ओलीको ‘निर्देशनमा’ ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न उर्दी