नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेपालका सर्वाधिक सफल र चर्चित क्रिकेटर हुन्। सानै उमेरमा उनले गरेको सनसनीपूर्ण प्रदर्शनले छोटो समयमै सन्दीपलाई विश्वसामु परिचित गरायो।
विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने हर खेलाडीको सपना हुन्छ। सन्दीपले पनि पक्कै देखेका थिए त्यो सपना। छोटो समयमै उनको त्यो सपना पनि पूरा भयो।
दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स) ले आइपिएल २०१८ मा सन्दीपलाई अनुबन्ध गरेसँगै उनी आइपिएल खेल्ने नेपालको पहिलो क्रिकेटर बने।
२०१८ को आइपिएल शुरु भएसँगै सबै नेपालीको ध्यान सन्दीप अनि उनको टिम दिल्लीतिर थियो। साथै सन्दीपले प्लेइङ ११ मा स्थान बनाउन सक्लान् कि सक्दैनन् भन्ने चिन्ता पनि।
आइपिएल २०१८ को शुरुवाती खेलमा दिल्लीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। न त सन्दीपले टिममा स्थान बनाउन नै सके। लगातारको खराब प्रदर्शनका कारण दिल्लीले प्लेअफमा स्थान बनाउन नसक्ने पक्कापक्की भएपछि दिल्लीले लिगको अन्तिमतिरको खेलमा सन्दीपलाई खेलाउने निर्णय गर्यो, जुन निर्णयको वेग्र प्रतीक्षामा थिए सारा नेपाली क्रिकेट फ्यानहरू।
उक्त निर्णय सन्दीपको लागि चुनौतीसँगै एक ठूलो अवसर थियो। अन्ततः दिल्लीबाट ३ खेल खेल्ने अवसर पाएका सन्दीपले राम्रो इकोनोमी राख्दै ५ विकेट चट्काए। यसपश्चात नै क्रिकेट करियरमा सन्दीपको नयाँ अध्याय शुरु भयो।
विश्व क्रिकेटले सन्दीप लामिछानेलाई राइजिङ स्टारको रुपमा चिन्यो। त्यसपछि सन्दीपले विश्वभरका विभिन्न प्रसिद्ध फ्रेन्चाइज लिगहरू खेल्ने अवसर पाए। उनले आइपिएल लगत्तै क्यारेबियन प्रिमियर लिग, अफगानस्तान प्रिमियर लिग, बिगब्यास लिग खेल्ने मौका पाए। अवसरलाई सही सदुपयोग गर्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै गए।
आइपिएल २०१९ मा दिल्लीले सन्दीपलाई रिटेन गर्यो। १२औं सिजनको उक्त आइपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए। विश्वस्तरीय फ्रेन्चाइज लिगहरूमा स्मरणीय प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले आइपिएल २०२० को लागि टिममा आबद्ध गर्यो।
तर, दुर्भाग्य नेपालीहरूले आइपिएल २०२० को एक खेलमा पनि सन्दीपको प्रदर्शन हेर्ने मौका पाएका छैनन्। दिल्लीले जारी सिजन १६ खेल खेलिसक्दा सन्दीप बेन्चमै सीमित छन्।
सन्दीपले टिममा स्थान नपाउनुमा दिल्लीले हालसम्म गरेको उत्कृष्ट प्रदर्शन भएको कतिपयको बुझाई छ। चोटका कारण दिल्लीका बलर अमीत मिश्रा मैदान उत्रिने नसक्ने भएपछि सन्दीपले टिममा स्थान बनाउने अनुमान गरिएको थियो। तर, दिल्लीका दुई स्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनले राम्रो प्रदर्शन गरिरहेका कारण पनि सन्दीपले अवसर नपाएको बताइन्छ।
दिल्लीले पहिलोपटक आइपिएलको फाइनल स्थान बनाएको छ। उपाधिका लागि मंगलबार दिल्लीले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ। आइपिएल २०२० को अन्तिम त्यो खेलमा पनि सन्दीपले अवसर पाउने सम्भावना न्यून छ।
कतिपय क्रिकेटप्रेमीले सन्दीपलाई आइपिएलको दर्शक मात्र बनाइएको टिप्पणी गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। खेल विशेषज्ञहरूले सन्दीपले विश्वस्तरीय क्रिकेटरहरुसँगको उठबसबाट पनि धेरै कुरा सिक्ने माैका पाएकाे बताएका छन्।