चितवन– भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो । छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।
निजहरुले छोरीको जन्मदर्ता भने विसं २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु आमा भनिएकाको विवाह भएको मिति भन्दाअघि देखिएपछि शङ्का लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउँछन्।
वडा कार्यालयको सिफारिससहित यही कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो । कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान शुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।