सरकारले लकडाउन गरेपछि नियमित पठनपाठन नहुँदा पनि काठमाडौं विश्वविद्यालयले विद्यार्थीसँग अध्ययन शुल्क असुल्न छाडेको छैन।
कोरोना प्रकोपका कारण पढाई स्थगित भए पनि काठमाडौं विश्वविद्यालयले सूचना प्रकाशित गरी तत्काल शुल्क बुझाउन उर्दी जारी गरेको हो।
विश्वविद्यालयले शुल्क तिर्न ढिलाई भए अतिरित शुल्क लिने गरेको छ। ‘पैसा तिर्न ढिलाई भए फाइन चार्ज गर्ने र लकडाउनको अवधिको शुल्क समेत बुझाउनु पर्ने भनिएको छ,’ एक विद्यार्थीले भने, ‘शुल्क नतिरे परीक्षा फर्म भर्न नदिनेसम्मको धम्की काठमाडौं विश्वविद्यालय प्रशासनले दिएको छ।’
लकडाउन अवधिको शुल्क र त्यसपछि पनि सबै शुल्क तिर्न निर्देशन दिएको विश्वविद्यालयले ‘दया मायाले’ विश्वद्यालय नचल्ने बताउने गरेको छ।
‘प्रशासनले हामीले पढाई फी लिएको हो, सबै शुल्क तिर्नुपर्छ, शुल्क नतिर्ने विद्यार्थीको जिम्मेवारी विश्वविद्यालयले लिँदैन भन्ने गरेको छ,’ एक विद्यार्थीले विश्वविद्यालयको उर्दी उद्धृत गर्दै भने।
विश्वविद्यालयले शुल्क नतिर्नेलाई धम्की दिने गरेको गुनासो समेत गरेका छन्। कोरोना प्रकोपले आर्थिक संकट आइपरेका बेला पनि विद्यार्थीहरूलाई प्रताडित गर्ने काम भएकाले आन्दोलन शुरु गरेको उनीहरूको भनाई छ।
सूचना खारेजीको माग राखेर विद्यार्थी रिले अनशनमा
काठमाडौं विश्वविद्यालयले असोज २२ गते सूचना प्रकाशन गरेर विद्यार्थीलाई शुल्क तिर्न ताकेता गरेपछि विद्यार्थीहरूले रिले अनशन शुरु गरेका छन्।
विद्यार्थीहरू शैलेश मिश्र, सृजना श्रेष्ठ, आएशा शाक्य र सादाव खान लगायतका अग्रसरतामा विश्वविद्यालयका विद्यार्थीले रिले अनशन शुरु गरेका हुन्।
चार बुँदे माग राखेर रिले अनशन शुरु गरेका विद्यार्थीले शुल्क बुझाउने सम्बन्धमा जारी सूचना खारेज नभए थप आन्दोलन थाल्ने बताएका छन्।
‘विश्वविद्यालयमा नियमित पठनपाठन नभएका बेला विभिन्न बहानामा शुल्क मात्र उठाउने गरिएकाले आन्दोलन थालेका हौँ,’ एक विद्यार्थीले भने।
‘शिक्षामन्त्री नै सेटिङमा’
आन्दोलनरत विद्यार्थीहरूले शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलकै ‘सेटिङ’मा विश्वविद्यालयले जबरजस्ती शुल्क लिएको बताएका छन्।
‘शिक्षामन्त्री पनि यस विषयमा जानकार हुनुहुन्छ, तर अहिलेसम्म कुनै एक्सन भएको छैन, शिक्षामन्त्रीसँग सेटिङ मिलाएर विश्वविद्यालयले विद्यार्थीसँग चर्को शुल्क असुलेको हो,’ एक विद्यार्थीले भने।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शिक्षामन्त्री पोखरेलले निजी शिक्षण संस्थाहरूको हित हुने र विद्यार्थीको अहित हुने काम गरेको बताए।
‘शिक्षामन्त्रीले अभिभावकीय भूमिका निभाउनु पर्ने थियो, तर निजी विद्यालय र कलेजले चाहे बमोजिम उहाँले काम गरिरहनु भएको छ, शिक्षामन्त्री निजी स्कूल कलेजका कारिन्दाजस्तो हुनुभएको छ,’ ढुंगानाले भने।