चितवन- भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ। सडक स्तरोन्नतिका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम शुरु गरेको छ। योसंगै सडकको छेउमा रहेका रुख, पोललगायत भौतिक संरचना हटाउने काम अघि बढाइँदै छन्।
निर्माण कम्पनी सगुन जेभीले सो सडक स्तरोन्नतीका लागि कार्यालयसँग २८ महिनामा काम सम्पन्न गर्ने गरि गत असोज २६ गते सम्झौता गरेको थियो।
सूचना अधिकारी इञ्जिनीयर खनालका अनुसार रु एक अर्ब १२ करोडको लागतमा छ किलोमिटर उक्त सडकखण्डको स्तरोन्नती गर्न लागिएको छ। हाल शहरको मुख्य क्षेत्रमा चार लेन र अन्य भागमा दुई लेन रहेको उक्त सडकखण्डलाई छ लेनमा स्तरोन्नती गर्न लागिएको हो।
सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ। सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याइएको छ भने चार लेन लामो दूरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याइएको सूचना अधिकारी खनालको भनाइ छ।
उनका अनुसार सवारी साधनलाई यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन्। सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ। सडकको दायाँबायाँ र बीचमा आकर्षक सडक बत्ती हुनेछ। उनले भने, ‘सरासर काम भएमा विसं २०७९ माघ १० गते भित्र सुन्दर सडक वन्नेछ।’
यो सडकले आवागमनलाई सहज बनाउनुका साथै महानगरको सौन्दर्यलाई समेत बढाउने महानगरका प्रमुख रेनु दाहालको भनाइ छ। उनले यो सडकको स्तरोन्नतीसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुनेछ भने।