मेलम्ची नगरपालिका–२ का स्थानीयबासीले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई वस्ती नजिकै अन्त्येष्टि गर्ने नगरपालिका कार्यालयको तयारीको विरोधमा उत्रिएका छन्।
मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको नेतृत्वमा रहेको कोभिड–१९ व्यवस्थापन समितिले वडा नम्बर–२ स्थित बसाहा चौरमा शव व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन्।
स्थानीयबासी र राजनीतिक अगुवाले गाउँ छेउमा शब गाड्न नदिने बताउँदै जबरजस्ती गर्न खोजे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। सोमबार उपप्रमुख नेपालसहित नेपाली सेना र नेपाल प्रहरी सम्मिलित ‘कोभिड–१९ रेस्पोन्स टिम’ त्यहाँ पुगेको थियो।
नगर प्रमुख डम्बरबहादुर अर्यालले बहासा चौरको खाली जग्गामा शव व्यवस्थापन गर्न सकिन्छ कि भनेर अध्ययन गर्न सरोकारवालासहितको टोली त्यहाँ पुगेको बताएका छन्।
तर, स्थानीयबासी तथा मेलम्ची वडा नम्बर–२ का सदस्य नगेन्द्रप्रसाद खतिवडाले गाउँवस्ती नजिकै शव व्यवस्थापन गर्न नमिल्ने बताउँदै नगरपालिकाको कोभिड–१९ व्यवस्थापन टोलीको रवैया स्वीकार्य नहुने प्रष्ट पारेका छन्।
‘केही परिहाल्यो भने शव व्यवस्थापन गर्ने भनेर मेलम्चीबाट एउटा टिम आएको थियो, तर ऐतिहासिक ठाउँमा शव व्यवस्थापन गर्न मिल्दैन भनेपछि उहाँहरू फर्किनुभयो,’ खतिवडाले भने।
‘बसाहा चौरमा शव गाड्न दिँदैनौं’
बसाहा चौर झण्डै ५० रोपनी सरकार जमीनमा फैलिएको छ। त्यहाँ चिया बगान पनि छ। खतिवडाका अनुसार चिया कम्पनीको स्टाफ बस्ने दुई वटा भवन त्यही छन्। साथै बगानको कार्यालय पनि छ।
‘तल्तिर रिसोर्ट छ, ऐतिहासिक ठाउँ हो, गुफा छ त्यहाँ, गाईले कुल्चेका ढुङ्गासहितको क्षेत्रमा शव व्यवस्थापन गर्छौं भन्नु नै गलत छ,’ खतिवडाले भने, ‘उपप्रमुख नेतृत्वको टोलीले त्यही ठाउँ उपयुक्त हो भने पनि मैले २ नम्बर वडाभित्रको व्यवस्थापन हामी गर्छौं, हामी यो ठाउँ दिन सक्दैनौँ भनेँ।’
ऐतिहासिक महत्त्वको बसाहा चौरमा पार्क निर्माण गर्ने तथा खेलमैदान निर्माणका लागि गुरुयोजना बनाउने तयारी भइरहेको छ। नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पनि यो विषय जानकारी रहेको खतिवडाले बताए।
तर, स्थानीयसँग राय नमागी शव व्यवस्थापनस्थल तोक्न आएको आफूहरूले विरोध जनाएको उनले बताए। ‘महामारी फैलियो भने नगरले होइन, टोलले व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ खतिवडाले भने, ‘हाम्रा बाबुबाजेले राखेको ठाउँ हो, कुनै पनि हालतमा चिहान बनाउन दिँदैनौं।’
‘उपचार गर्ने कि शव व्यवस्थापनका लागि ठाउँ खोज्ने?’
वडा सदस्य खतिवडा कोरोना प्रकोपमा नागरिकको उपचारमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन्। तर, नगरपालिका कार्यालयले उल्टो बाटो हिँडेर शव व्यवस्थापनका लागि ठाउँ खोज्न थालेको उनको टिप्पणी छ।
‘उपचारका लागि केही गरौँ भनेर आउनु पर्ने, नागरिकको ज्यान कसरी जोगाऔँ भनेर उपाय खोज्नु पर्ने, यहाँ त शव व्यवस्थापन कसरी गर्ने भनेर खोज्दै आउनु भयो,’ खतिवडाले थपे, ‘उपचार गर्ने कि शव व्यवस्थापनका लागि ठाउँ खोज्ने?’
वडामा महामारीकै रुपमा कोरोना फैलिए उचित स्थान खोजेर शव व्यवस्थापन गर्ने खतिवडाले बताए। ‘महामारीकै रुपमा फैलियो भने हाम्रो वडामा केही भयो भने हामीलाई उचित लागेको स्थानमा गर्छौं, तर ऐतिहासिक स्थललाई चिहान बनाउन दिँदैनौँ,’ उनले भने।
‘बसाहा चौरमा शव व्यवस्थापनको निर्णय भएको छैन’
यसैबीच, सोमबार स्थानीयबासीको विरोधपछि फर्किएकी मेलम्ची नगरकी उपप्रमुख भगवती नेपालले नगरमा जोखिम पर्न सक्ने भएकाले ठाउँको खोजीमा आफूहरू गएको बताएकी छिन्।
‘जोखिम पर्न आयो भने हामीले कुनै पनि ठाउँमा व्यवस्थापन गर्नुपर्छ, ठाउँ त खोज्नै पर्ने हुन्छ,’ नेपालले भनिन्, ‘हामी स्थान खोजीमा गएका हौँ, बसाहा चौरमा शव व्यवस्थापनको निर्णय भएको छैन, हामी अन्यत्र पनि खोज्दै छौँ।’