सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सचिवालय बैठक शुरु भएको छ। चार बजेबाट बैठक शुरु भएको हो।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीलाई भेटेपछि अध्यक्ष प्रचण्ड धुम्बाराही गएका हुन्। प्रचण्डसहितका ५ नेताको उपस्थितिमा बैठकमा छलफल शुरु भइसकेको जानकारी सापकोटाले दिएका छन्।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
यसअघि, प्रधानमन्त्री ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास पुगेका थिए।
ओलीका विश्वास पात्र पोखरेल मंगलबार बिहान खुमलटार पुगेका हुन्। स्रोतका अनुसार पोखरेलले ओलीसँगको सहमतिमा बैठक आह्वानको वातावरण तयार गर्न अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका थिए।
जवाफमा प्रचण्डले सचिवालय बैठकपश्चात ओलीसँग थप छलफल हुने र सहमति खोजिने बताएका थिए। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालयमा छलफल गर्नुपर्ने अडान दोहोर्याएका थिए।
तर, दुई अध्यक्षबीच सहमति गरेर आउने एजेण्डाअनुसार बैठक बस्नुपर्ने अडान ओलीले लिँदै आएका छन्। ओलीको असहमतिको बाबजुदब सचिवालय बैठक बोलाउने तयारी गरेका अध्यक्ष प्रचण्डलाई यसअघि महासचिव विष्णु पौडेलले पनि भेटेका थिए।
सचिवालय समितिका बहुमत सदस्य प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठक बोलाउन माग गर्दै ओलीलाई लिखित पत्र बुझाएका थिए।