अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनीलाई ४ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
धरौटीमा छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस मागेका सहनीलाई आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सहनीलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सियारी गाउँपालिका–७ बाट रंगेहात नियन्त्रणमा लिएको हो।
सहनीले सेवाग्राहीको जातीय विभेदसम्बन्धी मुद्दामा सहजीकरण गरिदिएवापत घुस मागेको खुलेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकाले प्रहरी हवल्दार सहनीलाई विगो चार लाख रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।