एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित भएसँगै पहिलो पटक आइपिएल च्याम्पियन बन्ने दिल्लीको सपनामा तुषारोपात भयो। मंगलबार भएको फाइनल खेलमा मुम्बईसँग ५ विकेटले हारेसँग आइपिएलको उपाधि जित्ने दिल्लीको सपना अधुरो रह्यो।
आइपिएलको १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनल पुगेको दिल्लीको टिम सन्तुलित भएको कारण पनि उसले उपाधि जित्ने अपेक्षा गरिएको थियो। तर दिल्लीले फाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन।
फाइनल खेलमा पराजित भएपछि दिल्लीका कप्तान श्रेयर अय्यरले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्। कप्तान अय्यरले फाइनलसम्मको यात्रा निकै उत्कृष्ट रहेको बताए।
‘यहाँसम्मको यात्रा ठूलो भयो। मलाई मेराे टिमसँग गर्व छ। फाइनलसम्म आइपुग्नु सानो उपलब्धी होइन। यो ठूलो उपलब्धि हो,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।
‘हामी झन् बलियो भएर आउनेछौं र आइपिएल ट्रफी जित्नेछौं,’ उनले भने, ‘म प्रशंसकहरुलाई भन्न चाहान्छु कि सिजनका तपाईँहरु ठूलो सहयोगि बन्नुभयो।’ उनले प्रशिक्षक रिकी पोन्टिङ आफूले काम गरेको सबैभन्दा उत्तम कोच भएको बताए।