नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारका प्रधानमन्त्री राणाशासनका प्रधानमन्त्रीभन्दा पनि गैरजिम्मेवारी भएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन युरोपले आयोजना गरेको भर्चुअल बहसमा बोल्दै नेता थापाले कोरोना भाइरसको महामारीले सयौं नेपालीको मृत्यु भइरहँदा र संक्रमित भइरहँदा सरकार जिम्मेवारी निर्वाह नगरेकोप्रति आक्रोश व्यक्त गरेका हुन्।
‘प्रधानमन्त्री ओली जनताप्रति होइन आफ्नै पार्टीको विवादमा मुछिदै कोरोना नियन्त्रणका बारेमा कुनैपनि छलफल वा बैठक नगरी गैरजिम्मेवारी बहन गरिरहेका छन्,’ नेता थापाले भने, ‘विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने निहुँमा सरकारले टिकटमा कमिसन खान तल्लिन भएको छ, यस्तो निरंकुश सरकारबाट धेरै अपेक्षा गर्न सकिँदैन।’
एनआरएनएका अभियन्ता तथा कांग्रेस नेता विश्वआदर्श पण्डितले नेपालमा सबैखाले स्वतन्त्रता प्राप्त भइनसकेकाले फेरि प्रजातन्त्र पक्षधरहरूको एकता आवश्यक रहेको औंल्याए। कार्यक्रममा नेपाली जनसम्पर्क समिति विश्व सञ्जाल युरोपका संयोजक शेखर कँडेलले दोष, आरोप–प्रत्यारोपभन्दा कमी कमजोरीलाई सुधार्दै संयुक्त रुपमा अघि बढ्नुको विकल्प रहेको बताए।
एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्यले अमेरिकामा राष्ट्रपतिको निर्वाचनबाट भर्खरै प्राप्त परिणाम अनुसार प्रजातन्त्रको रक्षाका लागि नयाँ सन्देश दिएको बताए। आचार्यले डायस्पोराका नेपालीहरूलाई केही उत्साहित बनाएको बताए।
एनआरएनएकी पूर्व सचिव जानकी गुरुङले डायस्पोराका नेपालीहरूको आवाज उठाउने जिम्मेवारी नेपाली पत्रकारहरूको पनि भएकाले सबै जागरुक हुन अनुरोध गरिन्।
एनआरएनएका अभियन्ता शेर सुनारले गोर्खाहरूको हक हित र गैरआवसीय नेपालीहरूका पक्षमा नेपाली कांग्रेसले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने बताए।
ग्लोबल नेप्लिज डटकमका अध्यक्ष तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरञ्जीवी ढकालले नागरिक स्वतन्त्रलाई बचाउने जिम्मेवारी प्रेसको भूमिका अहम् हुने बताए।
वरिष्ठ पत्रकार भगिरथ योगीले स्वतन्त्रताको रक्षाका लागि नेपाली समूदायमा एकताको भावना विकास हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी, नेपाल प्रेस युनियनका डिजिटल विभाग प्रमुख तथा केन्द्रीय सदस्य युवराज गौतम, बेलायत अध्यक्ष विपीन निरौला, पोर्चुगल संयोजक बसुधा सत्यालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
नेपाल प्रेस युनियन बेलायतका उपाध्यक्ष एभरेष्ट गौतमले नेपाल प्रेस युनियन बेलायत र युरोपको स्थापना इतिहासलाई स्मरण गराए।