काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको दबाबपछि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।
प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी आजसम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए।