रौतहटको माधवनारायण नगरपालिकाकी १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ। माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृताकुमारी साहको हत्या भएको हो।
बुधबार राति सुतिरहेको बेला उनको दायाँ कञ्चटमा गोली प्रहार भएको रौतहट प्रहरीले जानकारी दिएको छ। साहको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।
रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले अमृतादेवीकी आमा सीतादेवी साह शौचालय गएका बेला अज्ञात व्यक्ति प्रवेश गरी उनको टाउकोमा गोली प्रहार गरेको खुलेको बताए।
गोली चलेको आवाज सुनेपछि शौचालयबाट घरभित्र जाँदा छोरी छटपटाइरहेको अवस्थामा भेटेको सीतादेवीले बताइन्। गोली लागेको केही समयपछि नै अमृतादेवीको मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न अभियुक्तको खोजी कार्य शुरु भएको र आवश्यक अनुसन्धान पनि प्रारम्भ भएको बताएको छ। ‘प्रेम सम्बन्धका कारण घटना भएको देखिन्छ, अनुसन्धान हुँदैछ,’ डिएसपी श्रेष्ठले नेपाली पब्लिकसँग भने।
डिएसपी श्रेष्ठले राति ११ः३० बजे किशोरीको हत्या भएका जानकारी दिएका छन्। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ।
किशोरीको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिका बस्ने सोहन भन्ने रुपेश साहसँग बिहे खुल्न आएको छ। वैशाखमा रुपेशमाथि चक्कु प्रहार गरी हत्याको प्रयास भएको थियो।
तीन महिना उपचार गरेपछि निको भएका रुपेश र अमृताबीच साउन २५ गते सम्बन्धविच्छेद भएको खुल्न आएको प्रहरीको भनाइ छ।