काठमाडौं– नेपाली लेग स्पिनर सनदीप लामिछाने स्वदेश फर्किएका छन्। दिल्ली क्यापिटल्सबाट युएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा सहभागि भएका उनी बिहीबार नेपाल आएका हुन्।
सन्दीप तीन महिनापछि नेपाल फर्किएका हुन्। गत साउन १५ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका उनी आइपिएल खेल्नको लागि भदौ २९ मा वेस्टइन्डिजबाट सिधै युएई गएका थिए।
सिपिएल जमैका तलावाजबाट खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए। तर आइपिएलमा उनी बेन्चमा नै सिमित भए। दिल्लीले एक खेलमा पनि मौका नदिँदा सन्दीप निराश हुँदै नेपाल आएका छन्। आइपिएल २०२० को कुनै पनि खेलमा आफ्नो प्रदर्शन देखाउने अवसर नपाएका सन्दीपको आइपिएल भविष्य नै अनिश्चित भएको छ।
नेपालमा तीन साता बसेपछि उनी बिग ब्यास लिग (बिबिएल) खेल्न अष्ट्रेलिया जाने बताइएको छ। बिबिएलमा उनी कुन टिमबाट खेल्नेछन्, त्यो भने निश्चित भएको छैन।