भारतको आगरामा मंगलबार राति सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
नयाँदिल्लीमा रहेका नमस्ते–सुपा देउराली टुरका सञ्चालक दिल खत्रीका अनुसार मंगलबार राति १२ बजेतिर दिल्लीबाट सुनौली आउन लागेको कार आगरा एक्सप्रेस सडकमा ट्रकसँग ठोक्किएर दुर्घटना भएकाे हाे।
खत्रीले जनकपुरकी श्यामकुमारी पाण्डेको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन्। अन्य दुई जना मृतकको बुधबार सनाखत हुन नसकेको जानकारी उनले दिएका छन्।
‘आज मात्र बागलुङमा रहेका उहाँहरूका आफन्त दूताबासको सम्पर्कमा आउनुभएको सुनेको छु,’ खत्रीले भने। घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अरूको आग्रा र दिल्लीमा उपचार भइरहेको उनले बताए।