अमेरिकाको मेरिल्याण्डमा एकजना नेपाली तीर्थ सेवालाई अज्ञात व्यक्तिहरूले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएका छन्।
तीर्थको तीन दिनपछि होस खुलेको छ। र उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। डाक्टरले उनको अवस्थामा सुधार हुँदै गएको जानकारी दिएको आफन्तले बताएका छन्।
तीर्थ सेवालाई फिल्मी शैलीमा आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटना गत बिहीबार बेलुका सवा ७ बजेतिरको हो। तीर्थ र उनका साथी सधैंझैं काम सकेर पैदल घर फर्किदै थिए। कामबाट घरको दुरी पैदल हिँड्दा ५ मिनेटको मात्र छ।
प्रत्यक्षदर्शी एवं तीर्थका बंगाली साथीले त्यो साँझ सम्झिदै भने, ‘हिँड्दै गर्दा अचानक दुईवटा गाडी नजिकै आए र रोकिए, हामीले वास्ता गरेनौं, अगाडि बढेनौं, फेरि अर्को गाडी नजिकै आयो र एक जना मान्छे बाहिर निस्कियो। त्यहीकै बासिन्दा होला भनेर उसलाई हेरेनौं। उसले अचानक गोजीबाट केही निकाल्यो र एक्कासी तीर्थको टाउकोमा प्रहार गर्यो। दुई तीनपटक हान्ने बित्तिकै तीर्थ सेवा बाटोमै ढले, म भागें।’
भागेर अलि पर पुगेर आफूले हेरिरहेको तर केही गर्न नसकेको उक्त बंगाली साथीले तीर्थका आफन्तलाई बताएका छन्।
आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर भागेपछि त्यही बंगाली साथीले प्रहरीलाई बोलाएको बताइएको छ। ‘तीर्थ भएको ठाउँमा पुग्दा अलिअलि होसमा रहेको र ढलेर सडक पेटीमा छटपटाई रहेका थिए। र, रगत बगिरहेको थियो। मैले प्रहरीलाई फोन गरे।’ ती व्यक्तिको भनाई उद्धृत गर्दै एक आफन्तले भने।
५–७ मिनेटपछि प्रहरी र एम्बुलेन्स आएर अस्पताल लगेको थियो। अस्पतालमा तीर्थको टाउकोको शल्यक्रिया गरिएको हो।
अहिले तीर्थको अवस्था सुधारोन्मुख छ। सामान्य बोलचाल गर्न सक्ने तर निको भइ पुरानै अवस्थामा फर्कन कति समय लाग्न केही भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
अस्पतालका अनुसार तुरुन्त शल्यक्रिया गरिएकाले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन्। घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल शहरमा भएको हो।
उनी नजिकैको विशाल बजार एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन्। आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ। २०१५ देखि अमेरिका बस्दै आएका तीर्थ सेवाको परिवार नेपालमै छन्।