काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फन्ड’ शुरु गरेकी छिन्। क्यान्सरपीडित विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यले उक्त फन्ड शुरु गरिएको हो।
बिहीबार फन्डको सहकार्यका लागि कोइराला र काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी भएको छ। समझदारी पत्रमा कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र अभिनेत्री कोइरालाले हस्ताक्षर गरेका छन्। फन्डको सर्वाधिकार कोइरालासँग रहने छ।
फन्डमार्फत् विद्यालय र क्याम्पस तहमा पढ्ने क्यान्सरपीडित विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा छात्रवृत्ति दिइनेछ। अहिले उक्त कलेजमा मात्र त्यस्तो छात्रवृत्ति दिइने र पछि जो जहाँ पढ्न चाहन्छ त्यहीँ पढाउने बताइएको छ। मनीषा आफैं क्यान्सरबाट निको भएकी थिइन्।