काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्दैछ। खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे शुरु हुनेछ।
मैत्रीपूर्ण खेललाई विश्वकप छनोट खेलअघिको तयारीका रुपमा हेरिएको छ। त्यस्तै खेल नेपाली टोलीमा भित्रिएका केहि नयाँ खेलाडीहरुको परीक्षण हिसाबले पनि महत्वपूर्ण छ।
नेपाल घरेलु टोलीलाई पराजित गर्दै प्रतिष्ठाको लडाईँ जित्ने दाउमा छ भने बंगलादेश नेपालविरुद्ध राम्रो नजिता निकाल्ने प्रयासमा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण टि–स्पोर्ट बंगलादेशले गर्नेछ। टि–स्पोर्ट बंगलादेशको पहिलो खेलकुद च्यानल हो।
नेपालले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते खेल्नेछ। दुई खेलको मैत्रीपूर्ण सिरिजको विजेता टोलीलाई ट्रफी दिइनेछ। दुबै खेल बराबरीमा सकिएको खण्डमा दोस्रो खेलको अन्त्यमा पेनाल्टी सुटआउट हुनेछ।
नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ छन्।
त्यस्तै टाेलीमा पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि समावेश छन्।