काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि लगाएका छन्।
गत शनिबार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्र बुझाएका थिए। उक्त पत्रको जवाफ दिँदै प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन्।
प्रचण्डलाई सम्बोधन गरिएको ८ पेजको लामो पत्रमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन।
उनले सो पत्रमार्फत प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रहसमेत गरेका छन्। उनले थपेका छन्, ‘मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन।’
दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको भन्दै प्रधानमन्त्रीले प्रचण्डमाथि आक्रोश पोखेका छन्। नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजेका लागि डाकिएको छ।