काठमाडौं– तिहार शुरु भएसँगै नेपालमा मिठाइको माग ह्वात्तै बढेको छ। मागअनुसार बजारमा सजिलै अनेक स्वादका मिठाइ उपलब्ध हुने भएकाले मानिसहरु घरमा मिठाई बनाउने झन्झट गर्न चाहँदैनन्।
त्यसै पनि व्यस्त जीवनशैलीबाट थोरै रमाइलो गर्ने समय पाएका बेला भान्सामा घण्टौँसम्म मेहनत गर्ने जाँगर होस् पनि कसरी। तर, बजारमा छ्यापछ्याप्ती उपलब्ध मिठाइ स्वास्थ्यका लागि उपयुक्त छ त? यसमा मानिसहरुकोे ध्यान नै हुँदैन।
मिठाइमा उत्कृष्ट स्वाद ल्याउनको लागि विभिन्न रसायनको प्रयोग गरिन्छ। त्यस्ता रसायन स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छन्। ती रसायनमा क्यान्सरका तत्वहरुसमेत रहेको बताइन्छ। जिब्रो नै रसाउने गरी बनाइएका मिठाईमा फर्मालिन, सिल्भर र आल्मुनियमजस्ता रसायनको प्रयोग गरिएकाे हुन्छ।
त्यसैगरी मिठाईमा प्रयोग हुने रंगहरुले पनि स्वास्थ्यमा नकरात्मक असर पार्छन्। रसायनयुक्त मिठाइको सेवनले शरीरमा थकान महशुस हुने, मुड निराश र चिन्तित हुने, रुघाखोकीको जोखिम बढ्ने, अस्वभाविक तौल वृद्धि हुने जस्ता समस्याहरु आउँछन्।
त्यसकारण सकेसम्म मिठाइ घरमा नै बनाई खान चिकित्सकहरु सल्लाह दिन्छन्। बजारको मिठाइ गर्नैपर्ने भएमा त्यसको गुणस्तर र त्यसमा प्रयोग गरिएको तत्वहरुबारे जानकारी लिएर मात्र प्रयोग गर्नुपर्छ।