देउखुरी– राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर आगामी मङ्सिर १ गतेदेखि बन्द हुने भएको छ। गाउँपालिकाको मौरीघाट दाङस्थित आइसोलेशन सेन्टर रहेको भवन प्रदेशसभाको हिउँदे अधिवेशन तयारीका लागि आवश्यक पर्ने भएकाले बन्द गर्न लागिएको हो।
चार वटै स्थानीय तहले आआफ्ना पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गर्ने गरी सो सेन्टर बन्द गर्ने निर्णय गरिएको हो। सेन्टर सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाका उपाध्यक्ष देवका बेल्बासे, गढवा र राजपुर गाउँपालिकाका अध्यक्षद्वय सहजराम यादव र लोकराज केसी, लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतलगायतको उपस्थिति थियो।
हालसम्म चार पालिकाका २५५ कोरोना संक्रमितलाई आइसोलेट गरी २४६ जनालाई डिस्चार्ज गर्दैै आइसोलेशन सेन्टर बन्द हुने भएको हो। हाल सेन्टरमा रहेका नौ जनालाई अन्यत्र लगिने भएको छ।
राप्ती नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित आइसोलेशन सेन्टर चलाउन लागेको खर्च विवरण आइसोलेशन सेन्टर बन्द गरिएपछि चारै स्थानीय तहको उपस्थितिमा सार्वजनिक गरिने र सोको व्ययभार चार पालिकाले बहन गरिने निर्णयसमेत गरिएको छ।
बैठकले आइसोलेशन सेन्टरमा खटिएका नेपाली सैनिक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना सङ्क्रमणबाट बच्नका लागि सबैलाई सचेतना अपनाउन र जोकोहीलाई कोरोना संक्रमण भएमा चारै पालिकालाई आफ्नातर्फबाट बिरामीको रेखदेखलाई निरन्तरता दिँदै जान आग्रह गरेको छ।