काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहारको आज दाेस्राे दिन देशभर कुकुरको पूजाआजा गरि मनाइदैँ छ । त्यस्तै आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा पनि गरिदैँ छ ।
सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ।
आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् ।